काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटकपटक सरकारसँग वार्ता गरे पनि सफल हुन सकेको छैन । उनले यो एमाले सरकार जटिल र चुनौतीपूर्ण स्थितिमा रहेको पनि बताए। उनले भने, ‘एमालेको जन्म नै अप्राकृतिक, अपारदर्शी छ, यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो, राम्रो गर्नलाई निकाल्ने र नराम्रो गर्नेलाई रक्षा गर्छ, यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमायो,सडकमा दिन दिनै आन्दोलन भइरहेको छ।’
सरकारले शिक्षकहरूलाई अपमान गरेको प्रचण्डले बताए। ‘सरकार शिक्षकप्रति गम्भीर भएन, उनीहरूलाई गाली गर्ने, अपमान गर्ने गर्यो, यो भन्दा लाजमर्दो के हुन्छरु,सरकार गम्भीर होस,तत्काल वार्ता संवाद गरोस्, माग पूरा होस,’ उनले भने। उनले हिजो मात्रै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि झनै ओली सरकार गैरजिम्मेवार भएको देखिएको टिप्पणी गरे। उनले भने,‘हिजो एमालेकै शिक्षामन्त्रीले राजीनामा दिनुभयो,यसबाट झनै गैरजिम्मेवार भएको प्रस्तुत भयो,यो सरकारले आफै बोझ थाप्न सक्ने अवस्थामा छैन।’