काठमाडौं । बिगत २१ दिनदेखि सडक आन्दोलन गरीरहेका शिक्षकहरुले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार पनि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माइतीघर(बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन्।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझ जोडबलसहित सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेका छन्। उनले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेका छन्। आन्दोलनलाई परिणाममुखी बनाउन धैर्य, संयम र अनुशासन कायम राख्नुपर्ने उनले बताएका छन्।
आन्दोलन समितिकी संयोजक नानुमाया पराजुलीले सरकारले आफूहरूको मागलाई गम्भीरतापूर्वक नलिएको भन्दै यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मा सरकारले नै लिनुपर्ने बताइन्। उनले ऐन ल्याउनुको साटो आफूहरुलाई अल्मलाउने र थकाउने रणनीतिमा सरकार लागेको भन्दै यसपटक रित्तो हात नफर्किने अडानबाट पछि नहट्ने प्रष्ट पारिन्। शिक्षकहरुको मागलाई समबोधन गर्न नसकेकै कारण शिक्षामन्त्री बिद्या भट्टराईले सोमवार राजीनामा दिईसकेकी छिन् ।
यता मन्त्रीपरिषद् बैठक बसे पनि शिक्षक आन्दोलन बारे कुनै निष्कर्ष निकाल्न सकेको छैन । शिक्षकहरुकै आन्दोलनका कारण कक्षा १२ को बैशाख ११ गतेदेखि संचालन हुने भनिएको परिक्षा अन्यौलग्रस्त बनेको छ भने एसईईको उत्तरपुस्तिका नजाच्ने शिक्षकका अडानका कारण नतिजा प्रकाशनमा ढिलाई हुने निश्चित छ । त्यसरी नै नयाँ शैक्षिक सत्र शुरु भएर विद्यार्थी भर्ना अभियान संचालन गरीएपनि शिक्षकहरुका आन्दोलनकै कारण त्यो पनि प्रभावीत बनेको छ ।