काठमाडौं । आफूलाई ‘नेपाल सरकारको उपसचिव हुँ’ भन्दै विभिन्न व्यक्तिसँग गरी ७ लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख दुनेचौर गाउँपालिका ५ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्दै आएकी ४० वर्षीया जानकी न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।
जानकीले आफूलाई कानून मन्त्रालयको उपसचिव भएको र हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै एयरपोर्टको विभिन्न ठेक्का मिलाइदिने भनी ७ लाख ६० हजार ८ सय रूपैयाँ ठगेको एसपी अंगुर जिसीले जानकारी दिए ।
प्रहरीका अनुसार उनले त्रिभुवन विमानस्थलको विभिन्न शिर्षकमा ठेक्का मिलाइदिने र त्यसका लागि राजस्व र धरौटी रकम जम्मा गर्नुपर्ने भन्दै उक्त रकम ठगेकी हुन् । न्यौपानेमाथि ठगीसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान थालेको छ ।