काठमाडौं । नेपाल शिक्षक महासंघको अगुवाईमा आन्दोलन गरीरहेका शिक्षकहरुले सोमवार पनि प्रदर्शन जारी राखेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । सोमवार पनि काठमाडौंको माईतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् । शिक्षक आन्दोलनका कारण बिहानैदेखि बानेश्वर क्षेत्रमा यातायात सेवा प्रभाबीत बनेको छ ।
सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २० दिनदेखि आन्दोलन गरिरहेका छन् । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरुको छ ।
सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिवद्धतामा शिक्षकहरु विश्वस्त छैनन् । सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ । यता शिक्षा मन्त्रालयले भने ४ पटकसम्म शिक्षकहरुसँग बार्ता गरेर ७ बुदे सहमतीपत्र ड्राफ्ट गरेपनि शिक्षकहरु टसमस नभएर आन्दोलन गरीरहेका छन् ।