काठमाडौं । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । प्रहरीले उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरेको हो । उनीविरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघात आरोपमा जाहेरी परेको छ ।उनका अनुसार यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय ललितपुरबाट प्राप्त पत्रको आधारमा उनलाई पक्राउ गरिएको छ । उनीविरुद्ध मुद्दा कसले दर्ता गराएको कुरा खुल्न सकेको छैन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि यादवमाथि आर्थिक अनियमितताको आरोप लगाएका थिए ।
जनमतका केन्द्रीय अनुशासन समितिले यादवमाथि ०८१ चैत २१ मा पार्टीलाई हिसाव नबुझाएको र रकम अनियमितता रहेको सहितको आरोप लगाउँदै निलम्बन गरेको थियो ।