काठमाडौं । काठमाण्डौ उपत्यकामा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले आज गर्ने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीको संख्या बढाउनुका साथै सुरक्षा सर्तकता अपनाईएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा अघिल्ला दिनको तुलनामा आज सुरक्षाकर्मीहरुको टोली बढी देखिन्छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेक तामाङले राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षा रणनीति तयार पारिएको बताए । त्यसका लागि आवश्यक सुरक्षाकर्मीहरुलाई विभिन्न ठाउँमा परिचालन गरिएको जानकारी पनि दिए । जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर सुरक्षा योजना लागु गरिएको प्रहरी स्रोतले बतायो ।
राप्रपाले प्रदर्शनको लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छैन । अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने सुराक पाएसँगै निषेधित क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ । एआईजी तामाङले भने ‘निषेधित क्षेत्रमा हामीले सुरक्षाकर्मीको सङ्ख्या बढाएका छौँ ।’ उनका अनुसार निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारी प्रहरीले गरेको छ ।
‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयास हाम्रो रहन्छ, त्यसका लागि आवश्यक सुरक्षाकर्मी ठाउँ–ठाउँमा परिचालन गरेका छौं,’ एआईजी तामाङले भने, ‘कुनै पनि हालतमा निषेधित क्षेत्र तोड्न दिँदैनौं । यदि तोड्न खोजे बल प्रयोग गर्नुपर्ने अवस्था पनि हुनसक्छ ।’त्यसरी नै सशस्त्र प्रहरी बलले पनि गत १५ गते भएको हिंसात्मक आन्दोलनलाई मध्यनजर गर्दै सुरक्षा सर्तकता अपनाएको जनाएको छ ।