काठमाडौँ । आइसिसी यु–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । नेपाललाई बर्षा बाधक मात्र बनेन, नेपालका लागि अभागी साबित भयो ।
मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा शनिबारका लागि तय भएको अन्तिम खेल टस नै नभइ रद्द भएको हो । अफगानिस्तानले नेपाललाई नेट रनरेटका आधारमा पछि पार्दै सन् २०२६ मा जिम्बावे र नामिबियामा आयोजना हुने विश्वकपमा छनोट भयो ।
बिहान ९.३० वजेदेखि सुरु हुनुपर्ने खेल मैदान भिजेका कारण टस समेत हुन सकेन । जसले गर्दा जित्ने पर्ने खेल रद्द हुँदा नेपालको विश्वकपमा छनोट हुने सपना अधुरै रह्यो । खेल रद्द भएसँगै नेपाल र अफगानिस्तानले एक एक अङ्क बाँडे । नेपाल र अफगानिस्ताले सात सात अङ्क बनाएपनि अफगानिस्तान नेट रन रेटमा अगाडि रह्यो ।
नेट रनरेटमा अफगानिस्तानको ४.८१ र नेपालको ३.५७ थियो । पाँच टोली सहभागि छनोट खेलमा यसअघि नेपालले संयुक्त अरव इमिरेट्स ( युएई), हङकङ र ओमानलाई हराएको थियो ।