काठमाडौं । आजबाटराजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सशक्त आन्दोलनमा होमिएको छ । आज पहिलो दिनमै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पूर्वघोषणा गरेको हुँदा सरकारी संयन्त्र तथा सुरक्षा निकायहरु सचेत छन् । यसअघि राप्रपाले गत चैत २५ गते बल्खुमा शान्तिपूर्ण जनप्रदर्शन गरेको थियो । उक्त जनप्रदर्शन सोचेजस्तो प्रभावकारी हुन सकेन । आजबाट हरेक दिन आन्दोलनलाई निरन्तरता दिने र सरकारलाई झुकाएरै छोड्ने राप्रपाको तयारी छ । सरकारी पक्षले भने अहिलेसम्म आन्दोलन राजनीतिक आँखाबाट समेत हेर्न चाहेको छैन ।
अस्ति बिहीबार बसेको राप्रपाको वैठकले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बोल्ड निर्णय लिएपछि भने सरकार अलिकति झस्किएको देखिन्छ । जनमानसमा पनि चैत १५ गतेको तीनकुने आन्दोलनजस्तै हिंसात्मक हुने त होइन भन्ने त्राश उत्पन्न भएको छ । तर, राप्रपाका जिम्मेवार नेताहरुले पार्टीको तर्फबाट कुनै हिंसात्मक गतिविधि नहुने बताइरहेका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शान्तिपूर्ण आन्दोलन गर्ने पार्टीको नीति रहेको बताए । उनले भने, ‘राप्रपा हिंसामा विश्वास गर्ने पार्टी होइन । हाम्रो आन्दोलन सधैंझैं शान्तिपूर्ण हुन्छ । सरकारले पनि अनावश्यक दमन नगर्ने अपेक्षा लिएका छौं ।’ राप्रपाका प्रदर्शनकारीले बानेश्वर, भद्रकाली र बालुवाटारस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने छन् ।
यसक्रममा सुरक्षाकर्मीसँग धकेलाधकेल हुन सक्ने भए पनि ढुंगामुढा, तोडफोड र आगजनी गर्ने कुनै योजना नरहेको राप्रपा उच्च स्रोतले बतायो । निषेधित क्षेत्र तोड्ने क्रममा भने केही प्रमुख नेताहरुले गिरफ्तारी दिन सक्नेछन् । ककसले गिरफ्तारी दिने भन्ने तय भएको छैन । अध्यक्ष लिङदेनले अस्ति पत्रकारहरुसँग कुरा गर्दै आफू थुनिन तयार रहेको बताएका थिए ।
अहिलेसम्मको तयारी अनुसार बिहान अध्यक्ष लिङदेनको नेतृत्वमा विजुलीबजारमा मध्यान्न १२ बजे प्रदर्शन सुरु हुने छ । लिङदेनले नै अगूवाइ गरेर बानेश्वरको निषेधित क्षेत्रतर्फ अघि बढ्ने योजना रहेको स्रोतले बतायो । यस्तै बालुवाटारमा डा. प्रकाशचन्द्र लोहनीले र भद्रकालीमा विक्रम पाण्डेले आन्दोलनको नेतृत्व गर्ने तयारी छ । यद्यपि, अन्तिम समयसम्ममा आन्दोलनको रणनीतिमा परिमार्जन गर्न सक्नेछन् । सरकारी पक्ष भने आन्दोलनकारीप्रति कडा रवैया देखाउने मनस्थितिमा बुझिन्छ । आज गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिले पनि त्यस्तो संकेत गरेको छ । विज्ञप्तिमा निषेधित क्षेत्र तोड्न खोजेमा सैह्य नहुने बताइएको छ ।