काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौंमा जारी आन्दोलन अन्तरगत आज शिक्षकहरुले अहिले बिहान ९ बजेदेखि नै प्रदर्शन गर्ने भएका छन् । सरकार र महासंघबीच २०७५, २०७८ र २०८० सालमा भएको सहमति, सम्झौता अनुसार तत्काल अग्रगामी शिक्षा ऐन जारी गर्न माग गर्दै सडकमा उत्रिएका शिक्षकहरुले राप्रपाको प्रदर्शनलाई दृष्टिगत गर्दै आज आन्दोलनको दैनिक तालिका अगावै प्रदर्शन गर्न लागेका हुन् ।
शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ । अन्य दिन उक्त आन्दोलनका कारण दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर मण्डला–नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । आज बिहान ९ बजेदेखि नै उक्त सडक खण्ड अवरुद्ध हुँदा कार्यालय समयको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहानदेखि नै नयाँ बानेश्वर–माइतीघर सडकको डाइभर्सन गर्दैछ । उक्त रुटको विकल्पमा हनुमानस्थान–थापागाउँ खण्ड प्रयोग गरिने भएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्र्थापनाका लागि आजबाट सशक्त आन्दोलन गर्ने भएको छ । राप्रपाले आज १२ बजेपछि सुरु गर्ने आन्दोलनले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पूर्वघोषणा गरेको छ । राप्रपाले बानेश्वर, भद्रकाली र बालुवाटारस्थित निषेधित क्षेत्र तोडेर प्रर्दशन गर्ने जनाएको छ ।