सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारकै कारण १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताएका छन्। खेलकुद क्षेत्रका सङ्घसंस्था र प्रशिक्षकहरूसँग आज भएको भेटमा उनले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै भूमिका नरहेको स्पष्ट पारेका छन्। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ ३ देखि १० गतेसम्म कर्णालीमा आयोजना गर्ने तयारी थियो।
खेलकुद मन्त्रालयले प्रतियोगिता आयोजना गर्ने भनिए पनि आवश्यक तयारीमा ढिलासुस्ती गरेको मुख्यमन्त्री कँडेलको भनाइ छ। सुर्खेतमा सचिवालय स्थापना भए पनि ठोस काम नभएकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन्।
प्रतियोगिताको मुख्य आयोजक सङ्घीय सरकार भए पनि पूर्वाधार निर्माणमा प्रदेशको आग्रहलाई बेवास्ता गरिएको मुख्यमन्त्री कँडेलको गुनासो छ। उनले भने, ‘विगतमा अन्यत्र आयोजना गरिएका राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधारमा करोडौँ खर्च गर्ने सङ्घीय सरकारले कर्णालीमा निर्माण हुने पूर्वाधारमा लगानी गर्नुपथ्र्यो, तर पूर्वाधारमा कुनै पनि लगानी भएन।’
मुख्यमन्त्री कँडेलले प्रदेश रङ्गशाला निर्माण सम्पन्न भएर हस्तान्तरण भएपछि भुक्तानीमा कुनै समस्या नहुने बताए। उनले भने, ‘निर्माण कम्पनीले कहिले एक प्रतिशत काम बाँकी छ भन्ने, कहिले सम्पन्न भयो भन्ने गरेको छ, रङ्गशाला हस्तान्तरण भएको छैन। काम सम्पन्न भएर हस्तान्तरण भयो भने बाँकी रकम दिन प्रदेश सरकार तयार छ।’ उनले निर्माण व्यवसायीले कामभन्दा बहानाबाजी गरेको आरोप लगाए।
प्रदेश खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिमा रिक्त पदहरूमा छलफल गरी चाँडै नियुक्ति टुङ्ग्याउने तयारी भएको मुख्यमन्त्री कँडेलले बताए। रासस