नारायणगढ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नारायणगढ बुटवल सडकखण्डको आज अवलोकन निरीक्षण गरेका छन् ।चितवनको पूल्चोक गोन्द्राङ्ग सडकखण्डको उद्घाटन गर्न आएका बेला प्रधानमन्त्री ओलीले पूर्वी नवलपरासीको गैंडाकोटमा पुगेर सडक विस्तारको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका छन् ।
११३ किलोमिटर लामो यो सडकखण्ड विस्तारको कामका बारेमा ओलीले सडक आयोजनासँग पछिल्लो प्रगतिका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्री पुग्दा सडक आयोजनाका अधिकारी, चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधीहरुले स्वागत गरेका थिए ।
सडक निरीक्षणका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले नारायणगढ बुटवल सडकखण्ड विगतमा नबन्ने अवस्थामा पुगेकोमा अहिले सडक बन्ने अवस्थामा आएको बताए । ‘पहिले काम भएन भन्ने थियो, अहिले धमाधम काम हुँदैछ भन्ने छ, वीचमा धेरै समस्या र उल्झनहरु आए,’ प्रधानमन्त्री ओलीले सडक निरीक्षण गर्दैै भने, ‘अब अहिले सन्तोषजनक अवस्था छ ।’
सो अवसरमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्माले सडकको अवस्थाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । सचिव शर्माले ११३ किलोमिटर लामो सडक बर्खा अगाडि २० किमि मात्रै बाँकी रहने र बाँकी भाग कालोपत्रे भएर सकिने जानकारी गराए । उनले दाउन्नेको १३ किलोमिटर र पुल भएको ठाँउको गरी जम्मा २० किलोमिटर मात्रै सडक बर्खा अगाडि कालोपत्रे हुन बाँकी रहने बताए ।
दाउन्नेदेखि गैंडाकोटसम्म पूर्वी खण्ड ६३ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्म ३९ किलोमिटर पश्चिम खण्ड गरी दुई खण्डमा विभाजन गरेर चिनियाँ ठेकेदार कम्पनीले सडक विस्तारको काम गरिरहेको छ । पछिल्लो तीन महिनामा दुबैखण्डमा तीब्रताका साथ काम भैरहेको छ । पूर्वी खण्डको भौतिक प्रगति ६३ प्रतिशत र पश्चिम खण्डको ६१ प्रतिशत पुगेको छ । सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले पछिल्लो तीन महिनामा दुबैखण्डमा उल्लेख्य प्रगति भएको बताए ।