काठमाडौँ । सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्। बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा जारी बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पनि बोलाइएको छ।
देउवाको सचिवालयका अनुसार पार्टी र सरकार सञ्चालनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको हो। सरकारका काम कारबाहीका विषयमा ब्रिफिङ लिने गरी मन्त्रीहरूलाई पनि बोलाइएको देउवाको सचिवालयले जनाएको छ।
सरकारका कामकारबाही र निर्णय प्रक्रियालाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेसका दुई प्रभावशाली नेता नै अनुपस्थित थिए । जसका कारण कांग्रेस– एमाले गठबन्धन सरकारको आयुलाई लिएर प्रश्न उठिरहेको छ।
बुधबारको बैठकमा संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र संयन्त्र सदस्य तथा कांग्रेस महामन्त्री गगन थापा अनुपस्थित भएका थिए। उपसभापति र महामन्त्रीको अनुपस्थितिले सरकार सञ्चालनका लागि गठित संयन्त्रको बैठक नै प्रभावित भएपछि देउवाले बिहीबार पार्टीको बैठक राखेका हुन्।