वीरगञ्ज । वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ । दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले आज साँझ ६ः३० बजेदेखि आइतवार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम वीरगञ्जको पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चारकिल्ला मानेर सोभित्र कर्फ्यु लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । तोकिएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ ।
हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रामा अन्य समूदायका व्यक्तिहरुले ढुङ्गा हानेपछि झडप सुरु भएको थियो । शोभा यात्रामा सहभागीहरु आक्रोशित हुँदै केहि मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास हानेका छन् । झडपमा दर्जनौं हिन्दुवादी यूवा र प्रहरी घाइते भएका छन् ।