काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक प्रदर्शनमा नलागेर सरकारको प्रदर्शनमा ख्याल राख्न आग्रह गरेका छन्। शनिवार कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्। बाँकेबाट महामन्त्री शर्माले यस्तो सुझाव दिइरहेका बेला प्रधानमन्त्री ओली झापाको दमकमा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै थिए।
राजनैतिक दलहरूले सडकमा प्रदर्शन गर्ने र प्रदर्शनमार्फत आफ्ना एजेन्डाउपर जनमत बनाउन पहल गर्ने कार्य लोकतन्त्रमा बिलकुलै स्वाभाविक रहेको शर्माले बताए। ‘केहीअघि माओवादी र एकीकृत समाजवादी पार्टीको प्रदर्शन र पछिल्लो समय एमाले पार्टीको प्रदर्शनलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ महामन्त्री शर्माले भने, ‘लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ रूपले प्रस्तुत यी प्रदर्शन अत्यन्तै सकारात्मक छन्।’
तर, प्रधानमन्त्रीले भने सडकका प्रदर्शनतिर समय खर्चन नहुने उनले बताए। उनले भने, ‘खास गरी प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन सरकारको प्रदर्शनमा ध्यान केन्द्रित गर्न जरुरी छ। आज दिनभर प्रधानमन्त्री ज्युको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपर्थ्यो। तर प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नु भो।’ महामन्त्री शर्माले सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार्नतर्फ लाग्न आग्रह गरे । ‘सडक प्रदर्शन हामी दलहरूले गरौँला प्रधानमन्त्रीज्युले सरकारको काम गर्ने क्षमताको दोब्बर प्रदर्शन बढाउनुस्, तब गणतन्त्रप्रति जनताको समर्थन दोब्बर बढ्नेछ,’ शर्माले भने।