काठमाण्डौं । शिक्षा ऐन लागू गर्ने लगायतका मागहरु राखेर काठमाण्डौ केन्द्रित आन्दोलन गरीरहेका शिक्षकहरूले शनिवार पनि प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूले शनिबार भने बबरमहल क्षेत्रको सडकमै बसेर प्रदर्शन गरेका छन् ।
बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन केही समय प्रभावित भएको थियो । शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले निरुनतर आन्दोलन गरीरहेका छन् । महासंघले आन्दोलन र वार्ता सँगसँगै अघि बढाएकोछ ।
यसैबिच आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयकाबिचमा बार्ता पनि चली नै रहेको छ । बिहीबार र शुक्रबार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् । तर शिक्षकहरुले भने आफ्ना जायज मागहरुको सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिईरहने बताउँदै आएका छन् ।