काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले बदनाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित बिपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बदमासी भइरहेको भन्दै यस्तो अवस्थामा स्थापना भएको सहकारीले सच्चा मान्यमा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बदनाम र आलोचना हुने काम गर्ने छैन भन्ने विश्वास छ । अहिले सहकारीको धेरै ठूलो बदमानी भइरहेको छ, यस्तो हुनु हुदैँन । बिपि कोइरालाजस्तो हाम्रो जननायक नेताको नामबाट जुन यो सहकारी स्थापना भएको छ यसले अवश्य नै सच्चा मान्यमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ ।’
सोही कार्यक्रममा बिपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एंव काङ्ग्रेसका नेता उमेशजंग रायामाझीले यो सहकारी रविको सहकारी नभएको भन्दै यसले भ्रष्टाचार र ठगी नगर्ने बताए । उनले भने, ‘केही कमि कमजोरीहरु भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौं । यो सहकारी रविको सहकारी होइन यसले भ्रष्टाचार गर्दैन, यो ठगि गर्ने संस्था होइन यो स्वास्थ्य सेवा दिने बिपिको नाममा स्थापना भएको संस्थाहो । एक पैसाखाने छैन र खानदिन छैन ।’
बिपि कोइरालाको नाममा खोलिएको संस्था भएको हुनाले लोपोन्मुख १० जातिलाई निस्शुल्क सेवा गर्ने र कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि सेवा दिने निर्णयका साथ अगाडि बढेको उनको भनाई छ । उनले भने, ‘बिपि कोइराला नाममा खोलिएको हुनाले हामीले लोपोन्मुख १० जातिलाई निस्शुल्क सेवा गर्ने निर्णय गरेका छौं । कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि हामी सेवा दिन्छौं । कुनै पनि बिरामी हाम्रो अस्पतालआएपछि पैसा नभएका कारण बिनाउपचार फर्किदैँन ।