काठमाडौं । हङकङमा जारी चार देशीय टी– २० सिरिजअन्तर्गत घरेलु टोलीसँगको खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले एकएक अंक बाँडेका हुन् । नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गर्यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित गर्यो ।
३ खेलबाट ३ अंक जोडेको घरेलु टोली हङकङ फाइनलमा दौडबाट बाहिरियो । उपाधिका लागि आइतबार नेपाल र कुवेत खेल्नेछन् । हङकङ र कतारले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।