काठमाण्डौं । म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको चिकित्सकीय टोली स्वदेश फिर्ता भएको छ ।
१२ जना चिकित्सकीय टिम र ४ जना बन्दोबस्ती सहायता टिमसहित कुल १६ सदस्यीय टोली आज स्वदेश फिर्ता भएको हो । उक्त टोली यही चैत्र २० गते त्यसतर्फ प्रस्थान गरेको थियो ।
नेपाल सरकारको निर्णय बमोजिम शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकसहित खटिएको टोली म्यानमारको म्याण्डलेस्थित यामथिन शहरमा स्वास्थ्य शिविर स्थापना गरी घाइतेहरूको उपचार गरेको थियो ।
उपचारका क्रममा उक्त टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नीसम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओपीडी सेवा प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।