नवलपरासी । नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) नवलपुरको मध्यवर्ती वन क्षेत्रबाट आउने वन्यजन्तुले बालीनालीमा क्षति पुर्याउन थालेपछि यहाँका किसान माछापालनतर्फ लागेका छन्। कावासोती नगरपालिका–७, साँढका सडककुमार चौधरीले पहिले धान खेती गर्ने आफ्नो जमिनमा पोखरी खनेर माछापालन सुरु गरेको बताए। धानलगायतका बाली राम्रो भए पनि भित्र्याउने बेला वन्यजन्तुले नष्ट गर्न थालेपछि टोलका सबैले सल्लाह गरेर पोखरी खनेर माछापालन थालेको उनले जानकारी दिए।
‘पहिला धान राम्रै फल्थ्यो, जनावरले खाएर सखाप पार्न थालेपछि पोखरी खनेर माछा पाल्न थालेका हौँ,’ चौधरीले भने। पोखरी खन्न मध्यवर्ती सामुदायिक वनले पनि सहयोग गरेको छ। माछापालनबाट राम्रो आम्दानी भइरहेको उनले बताए। रामनगर, साँढ र गैरी टोलका प्रायः सबैले माछापालन गरेका छन्। वन सीमासँग जोडिएका यी टोलमा मात्र करिब १०० पोखरी रहेको कावासोती नगरपालिका–७ का वडाध्यक्ष गोविन्दप्रसाद महतोले बताए। वन्यजन्तुले बाली नोक्सान गरेपछि माछापालन थालेका स्थानीयको आम्दानीको मुख्य स्रोत पनि यही बनेको छ।
‘वन्यजन्तुले बाली नष्ट गर्थ्यो, अब माछा खाने कुरा भएन, राम्रो नै छ, कतिपयले धेरै राम्रो आम्दानी गरेका छन्,’ वडाध्यक्ष महतोले भने। वडाले गत वर्ष ५० प्रतिशत अनुदानमा माछाको दाना उपलब्ध गराएको उनले बताए। कावासोती नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख डा। टेकराज पौडेलका अनुसार मध्यवर्ती सामुदायिक वनसँग जोडिएका वडामा माछापालन गर्ने किसानको सङ्ख्या बढ्दो छ। वन्यजन्तुले बालीमा क्षति पुऱ्याउँदा र पानीको राम्रो स्रोत उपलब्ध भएकाले माछापालन गर्ने किसान बढेका हुन्। पालिकाका वडा नम्बर ७, १०, ११, १३, १४, १५ र १७ लाई माछा पकेट क्षेत्रका रूपमा राखिएको शाखाप्रमुख पौडेलले बताए।
कावासोतीमा माछाको उत्पादन बढ्दै गएको उनको भनाइ छ। ‘कावासोती नगरपालिकामा पछिल्लो समय माछापालन गर्ने किसान बढेका छन्, उनीहरूले राम्रो आम्दानी गरिरहेका छन्, पालिकाले पकेट क्षेत्र घोषणा गरेर केही सहयोग पनि प्रदान गर्दै आएको छ,’ शाखाप्रमुख पौडेलले भने। कावासोती नगरपालिकाले माछापालन गर्ने किसानलाई मत्स्य यान्त्रीकरण सहयोग कार्यक्रममार्फत मोटर, एरिएटर, जाललगायतका सामग्री ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको, समय–समयमा माछाको भुरा अनुदानमा दिनेलगायतका सहयोग गर्दै आएको डा। पौडेलले जानकारी दिए। रासस