काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते भएको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा उनले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई आग्रह गर्दै सुरेशकी श्रीमतीलाई रोजगारीलगायत आवश्यक व्यवस्थाका लागि सरकारले ध्यान दिने बताए।
प्रधानमन्त्री ओलीले अराजक जत्थाको आगलागीका कारण अकालमा ज्यान गुमाउन पुगेका पत्रकार रजकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारमा समवेदना दिए। उनले उक्त दुःखद् घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही प्रक्रिया सुरु भएको जानकारी दिए।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको समन्वयमा भएको भेटमा सुरेशका दाजु रमेश रजक र दिनेश रजकलगायत सहभागी थिए।