काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरहरूको बैठक सिंहदरवारमा केही समयअघि सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो भने घटनामा दुई जनाको मृत्युसमेत भएको थियो । घट्नापछि राप्रपाका नेता कार्यकर्ताहरुसहित केही मानिस पक्राउ परेका छन् ।
यसअघि हिजो बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले पनि अहिलेको संविधान पक्षधरसँग छलफल गर्ने निर्णय गरेको थियो । बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टी अध्यक्ष सीके राउत, जनमोर्चाका चित्रबहादुर केसीलगायत छन् ।
बैठकमा पछिल्लो समसामयिक राजनीति, गत शुक्रबार राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शन, संसदमा जारी अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने बोलाईएको छैन ।