सिन्धुली । नेकपा ९ माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अब छाडा छोड्न नसकिने बताएका छन् । सिन्धुलीको दुधौलीमा आइतबार माओवादीको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले चैत १५ गते समाजवादी मोर्चाको सभ्य र कथित राजावादीको आततायी हत्यारासभा भएको जिकिर गरे ।
उनले जनताको उदारतालाई कमजोरी ठानेर ज्ञानेन्द्रले मुर्खता गरिरहेको उनले बताए । ‘उनलाई छाडा छोड्न सकिँदैन । ज्ञानेन्द्र शाहले जनताको उदारताले भोग पाएको छन् । अझै मुर्खता गर्ने हो भने उनले भोग्ने दिननै सिद्दिन्छ,’– उनले भने ।
पूर्वराजा ज्ञानेन्द्रकै कारण गत शुक्रबार तीनकुनेमा हिंसात्मक घटना भएको प्रचण्डको दाबी छ । उनले ज्ञानेन्द्रकै कारण उक्त घटनामा दुई जना होनाहार युवाको हत्या भएको दाबी गरे । आफ्नै घरमा भयानक हत्याकाण्डको मञ्चण गर्ने ज्ञानेन्द्रले जनताको छोराछोरीहरु मार्नु सामान्य सोच्ने गरेको उनले बताए । ‘दुई जना होनाहार युवाको हत्या भयो, त्यसको लागि जिम्मेवार ज्ञानेन्द्र शाह नै हो । आफ्नै घरमा भयानक हत्याकाण्ड मञ्चण गर्न सक्नेहरुले जनताका छोराछोरी मार्ने कुरालाई त उनीहरुले केहीजस्तै मान्दैनन् ।
अहिले सर्वत्र आवाज उठेको छ, ज्ञानेन्द्र शाहलाई अब छुट दिन हुँदैन भन्ने जनस्तरबाटै आवाज उठेको छ । हामी सबै राजनीतिक दलहरुले भनेका छौं– उनलाई छाडा छोड्न सकिँदैन । जनता र पार्टीहरुले देखाएको उदारताको नाजायज फाइदा उठाएर फेरि आतङ्क, फेरि गुण्डागर्दी, फेरि हत्या गर्छन् भने जनताले उनलाई छुट दिँदैनन्,’– उनले भने । वर्तमान सरकार भ्रष्टाचारीको रक्षाका लागि बनेकाले जनतामा निराशा छाएको पनि उनले बताए ।