काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका छन्। एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको हो। प्रचण्डसँगको कुराकानी पश्चात प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले आइतबार साँझ साढे ६ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेका हुन्। गत चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो। तीनकुने घटनामा दुई जनाको मृत्युसमेत भएको थियो।
सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दिए। गणतन्त्र पक्षधरहरूलाई प्रधानमन्त्रीले बैठकमा बोलाएका हुन्। राजसंस्था पुनर्स्थापनाको एजेन्डा लिएको राप्रपालाई भने बैठकमा नबोलाइएको स्रोतको भनाइ छ। यसअघि प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल ुप्रचण्डु ले पनि विपक्षी दलहरूको बैठकमा राप्रपालाई बोलाएका थिएनन्।
नेपाली कांग्रेसको शनिबार बसेको पदाधिकारी बैठकले अहिलेको संविधान पक्षधरसँग छलफल गर्ने निर्णय गरेको थियो। संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्रीले प्रतिपक्षी दल नेता प्रचण्डसँग कुराकानी गरेका हुन्। सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि विपक्षी दलहरूले सदन अवरोध गर्दै प्रधानमन्त्रीको जबाफ मागेका थिए।