काठमाडौं । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुने भएको छ ।
काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता कार्यकर्ता हरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो ।
हिंसात्मक आन्दोलनका क्रममा ११२ जना पक्राउ परेका छन् । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोयल टास्क फोर्स ( आरटीएफ ) का कमाण्डर लगायत रहेका छन् । राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार भएका छन् । पक्राउ परेका अन्यको हकमा आवश्यक स्क्रिनिङपछि आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनीलगायतका मुद्दा चलाउने प्रहरीको भनाइ छ ।
पक्राउ परेका मध्येहरूबाट स्क्रिनिङ गरेर म्याद थप गराई अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये कसलाई कुन मुद्दा लगाउने भन्ने टुंगो लागिसकेको छैन । १५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।