काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् ।
तीनकुने घटनामा पूर्वराजालाई पक्राउ गरिनुपर्ने अभियान सामाजिक सञ्जाल प्रयोगकर्ताले चलाइरहेको बेला उनले यस्तो बताएका हुन् । सबै राजनीतिक दलहरु, अभियन्ताहरु र सबैले पूर्वराजालाई पक्राउ गर्नुपर्ने माग गरीरहेका बेला राप्रपा अध्यक्षले पक्राउ गर्न ठाडो चुनौती दिएका हुन् । अब प्रश्न उठेकोछ , के सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहालाई पक्राउ गर्ला त ?
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत बिपक्षी दलहरु र स्वयं सत्ताघटक दल नेपाली काँग्रेसले समेत शुक्रवार तिनकुनेमा भएको घटनाको सम्पूर्ण दोषी र जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र शाह रहेको निष्कर्ष निकालीसकेको छ । यता सरकारले पूर्व राजा देश छोडेर भाग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै उनको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाईसकेको छ । के सरकार पूर्व राजालाई पक्राउ गर्न तयारीमा जुटेको हो त ? अहिले सबैका सामू यो प्रश्न खडा भएको छ ।
तर राजावादी आन्दोलनका कमाण्डर मेडीकल ब्यवसायी दुर्गा प्रसाईलाई दुईदिन भईसक्दा पनि पक्राउ गर्न नसकेर आलोचना खेपीरहेको सरकारले पूर्व राजालाई पक्राउ गर्ने हिम्मत राख्ला त भन्ने प्रश्न पनि उब्जिन थालेको छ । ‘राजाको नाम लिएपछि चुनाव जित्न सजिलो हुन्छ भनेर राजा चाहिन्छ भनेको होइन । त्यसकारणले राजा जस्ले बोके पनि हुन्छ, जस्ले ल्याए पनि हुन्छ भनेर हामीले बारम्बार भनिरहेका छौँ,’ लिङ्देनले भने, ‘हामीले कुनै व्यक्तिगत फाइदा र व्यक्तित्व विकासको प्रयोजनका लागि राजसंस्था चाहिन्छ भनेको होइन ।
त्यसकारण मलाई कुनै टिप्पणी गर्नु छैन र राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि स्प्रष्ट छु । राजालाई एरेस्ट गरेर देखाउनु अनि शक्ति हामी देखाउछौँ ।’ राजालाई कुनैपनि विवादमा तान्नु नहुने लिङ्देनको भनाइ थियो । अध्यक्ष लिङ्देनले तीनकुनेमा भएको प्रदर्शनमा सरकारले हिंसा भड्काएको आरोप लगाए ।