काठमाडौं । जनता समाजवादी पार्टी ( जसपा ) नेपालले तीनकुने घटनाको सत्यतथ्य छानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गर्न माग गरेको छ।
पार्टीका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर, जडिबुटी र तीनकुनेलगायतका स्थानहरूमा भएको लुटपाट, तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा छानबिन आयोग गठन गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आमजनतामा उत्पन्न भएको निराशा र आक्रोशको अवस्थालाई उपयोग गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई नै समाप्त पारी मुलुकमा एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था र हिन्दू राज्यको नाममा प्रतिगामी तथा प्रतिक्रान्तिकारी उद्देश्यका लागि २०८१ साल चैत १५ गतेका दिन गरिएको कार्यक्रम अनियन्त्रित, अराजक तथा हिंसक भई लुटपाट, तोडफोड र आगजनीमा परिणत हुनुका साथै निर्दोष व्यक्तिहरूको निर्ममतापूर्वक हत्यासमेत गरिएका छन् ।