काठमाण्डौं । सरकारले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक बयोवृद्ध नेता नवराज सुवेदीलाई हाउस एरेष्ट गरेको छ । ८७ वर्षीय नेता सुवेदीलाई स्वास्थ्य र उमेरका कारण घरमै नजरबन्द गरिएको हो । उनी नेतृत्वको आन्दोलन अराजक बन्दा काठमाडौंमा तोडफोड,आगजनी र लुटपाट भएपछि सरकारले नियन्त्रणमा लिएको हो ।
राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष सुवेदी ३० वर्षदेखि राजनीतिमा सक्रिय थिएनन् । यद्यपी उनी राप्रपाको नेतृत्वमा थिए । पछिल्लोपटक पूर्व राजा ज्ञानेन्द्रको आग्रहमा उनी आन्दोलन परिचालन समितिको संयोजक भएका थिए । शुक्रवारको आन्दोलनमा उनी अश्रु ग्याँस खाएपछि मन्च छाडेर हिँडेका थिए । उनलाई चाबहिल गौरीघाटस्थित निवासबाट बाहिर निस्कन नमिल्नेगरी नजरबन्द गरिएको छ ।
पूर्वराजा फर्काउने उद्घोषसहित काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने कमान्डर दुर्गा प्रसाई भने फरार भएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले शुक्रवार आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको छ ।
उनलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि राति ११ बजेसम्म फेला परेका छैनन् । सरकारले आगजनी, पत्रकारलाई जलाएर मारेको तथा सरकारी तथा निजी सम्पत्ति लुटपाटमा प्रमुख दोषी बनाएर मुद्दा चलाउने भएपछि प्रसाईँ फरार छन् । उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर घोषित भएका व्यक्ति हुन् ।