काठमाडौँ । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् ।
उनीहरुलाई राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले बताए । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको बताइएको छ । दुबैलाई अहिले टेकु लगिएको छ । शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापाक तोडफोडको घटना भएको थियो ।
दुर्गा प्रसाईं मुख्य आयोजक भएको उक्त कार्यक्रममा राजावादी समूहहरुको संयुक्त मोर्चा पनि सहभागी थियो । मिश्रसहित राजावादी समूहको आन्दोलन परिचालन समितिका संयोजक धवलशमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ, स्वागत नेपाललाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।