काठमाडौं । राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि कफर्यु आदेश जारी गरिएको छ । काठमाडौंका तीन स्थानमा कफ्यू लगाइएको हो । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्को आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।
तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले केही बेरमा सूचना अपलोड हुने बताए ।
राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ । प्रर्दशनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यलयमा समेत आक्रमण र तोडफोडबो प्रयास गरेका थिए । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ । तर उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् ।