जनकपुरधाम । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल मधेश प्रहरी कार्यालय क्रिकेट टिमलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशद्वारा सम्मान गरिएको छ। जनकपुरधामस्थित मधेश भवनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सतीशकुमार सिंहले विजेता टिमका खेलाडीहरूलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरे।
उक्त अवसरमा उनले राष्ट्रिय तथा अन्ताराष्ट्रिय स्तरका खेलाडी र प्रशिक्षकहरूलाई सरकारी कर्मचारी सरह नियुक्त गर्ने योजनामा प्रदेश सरकारले काम गरिरहेको बताए। मुख्यमन्त्री सिंहले खेलकुद सम्बन्धी कानुनी ढाँचा तयार गर्ने प्रक्रिया अघि बढिरहेको समेत बताए। साथै प्रदेशभर खेलकुद सामग्री केही दिनभित्रै वितरण गरिने जानकारी गराए।
यसका लागि लोकसेवा आयोगसँग समन्वय गर्ने मुख्यमन्त्री सिंहले बताए। कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जैसवालले ११औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमै आयोजना गर्ने लक्ष्य राखिएको बताए। मन्त्री जैसवालले कर्णाली प्रदेशले दुई वर्षमा रंगशाला निर्माण गरेर देखाउन सफल भएकाले मधेश प्रदेशले अझ छोटो समयमा रंगशाला निर्माण गर्ने बताए। आगामी बजेटमा रंगशाला निर्माणका लागि आवश्यक रकम छुट्याइने समेत बताए।