काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको अविजित यात्रालाई रोकेको छ । एक्स्ट्रा टेक ओभलमा बिहीबार भएको खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गरेको हो । पछिल्ला ८ खेलमा अविजित पुलिसको यो पहिलो हार हो । १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आर्मीका लागि विवेक यादव ४१ रनमा अविजित रहे ।
पुलिसका लागि ललित राजवंशीले ४ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरी र करण केसीले भने १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पुलिस ४१.४ ओभरमा १४८ रनमा अलआउट भएको थियो । पुलिसका लागि दीपेन्द्रले अर्धशतकीय पारी खेले । उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५० रनको योगदान गरे । यद्यपि, जितका लागि पर्याप्त हुन सकेन ।
आर्मीका लागि शाहब आलमले ४ विकेट लिए । सो क्रममा उनले १० ओभराम ३१ रन खर्चदाँ ३ मेडन पनि फाले । नरेन साउदले ३ तथा कुशल मल्लले १ विकेट लिए । प्रधानमन्त्री कपमा ९ मध्ये लगातार ८ खेलमा जित हासिल गरेको पुलिस १६ अङ्कसहित शीर्ष स्थानमा छ ।आर्मी १६ अङ्कसहित दोस्रो स्थानमा छ । बिहीबार आफ्नो अन्तिम खेलमा कोशीलाई पराजित गर्दै कुल १४ अङ्क जोडेको एपीएफ भने प्रतियोगितामा तेस्रो रह्यो । अब शनिबार हुने खेलमा पुलिस र आर्मी आमनेसामने हुनेछन् ।