काठमाडौं । राजावादी र गणतन्त्रवादीको प्रदर्शनलाई ध्यानमा राखेर राजधानीको सुरक्षा कडा बनाइने भएको छ । सम्भावित मुठभेड रोक्नका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीको नेतृत्वमा ३५ सय सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
शुक्रबार प्रदर्शनीमार्गमा गणतन्त्रवादी समाजवादी मोर्चा र तीनकुनेमा पूर्वराजा समर्थकले प्रदर्शन गर्दैछन् । काठमाडौं परिसरमै कमाण्ड सेन्टर बनाएर प्रहरी खटाइने व्यवस्था मिलाइएको छ । कमाण्ड सेन्टरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी समेत उपस्थित हुनेछन् ।
सुरक्षाकर्मीले पूर्वराजाका समर्थकलाई रिङरोडमै जुलुस रोक्ने रणनीति लिएको छ । समाजवादी मोर्चाका समर्थकलाई भने भक्तपुरतिरबाट कोटेश्वर हुँदै बालकुमारीतर्फ ‘डाइभर्ट’ गरिने प्रहरीको भनाइ छ । सुरक्षा कमाण्डर अधिकारीले शान्ति सुरक्षामा प्रहरी नचुक्ने बताएका छन् । “सकभर मुठभेड हुन दिँदैनौं, शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन,” एसएसपी अधिकारीले भने ।
समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिपुरेश्वरबाट प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ ।