काठमाण्डौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरूबीच विवाद नरहेको दाबी गरेका छन्। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु एकै मञ्चमा सहभागी भएका छन् । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा देखिएका हुन् ।
नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन उनीहरु सहभागी हुन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् ।
बिहीबार काठमाडौँमा आयोजित संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्। उनले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको बताए। उनले टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरूलाई सम्बोधन गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको जिकिर गरे।
दाहालले राजनीतिक नेतृत्व मुलतः पीडितलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा स्पष्ट रहेको बताए । अध्यक्ष दाहालले विवाद र विमतिका बीचमा पनि देशको राष्ट्रिय मुद्दा भएकाले राजनीति गर्न हुँदैन भनेर आफूहरू लागिरहेको बताए।