काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित पुस्तक विमोचन समारोहमा उनले कांग्रेस सत्तासँग सहकार्य गरिरहेको र प्रधानमन्त्री ओलीलाई साथ रहेको बताएका हुन्।
सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानुबुबा’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थितिमा देउवाले पुरानो सम्बन्ध स्मरण गर्दै भने, ‘प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं। हामी जेलभित्रकै गोलघरमा पनि सँगै थियौं।’
उनले कांग्रेस र सरकारबीचको सहकार्य उल्लेख गर्दै थपे, ‘हाम्रो सम्बन्ध राम्रो छ, अहिले पनि राम्रोसँग अघि बढिरहेका छौं। कांग्रेसबाट प्रधानमन्त्रीलाई पूरा समर्थन छ।’ महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालालगायतले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असहमति जनाइरहेका बेला देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ रहेको स्पष्ट पारे।