बिना थापा
काठमाण्डौं । सोमवार साँझ मकवानङ्गपुरको विकट राक्सिराङ गाउँपालिकाको खैराङलगायत दुर्गम बस्तीका ९ वटै वडाका चेपाङसहित अन्य समुदायको घरमा बत्ति पुरयाएर खुशीयाली साटीरहेका थिए नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग । तर उनलाई के थाहा त्यही समयमा काठमाण्डौमा बसीरहेको मन्त्रीपरिषद् बैठकले उनलाई निलम्बन गर्यो । उनको मुहारमा देखिएको खुशी क्षणचरमै आक्रोशमा परिणत हुन पुग्यो । कुलमानले सोमवार साँझ राक्सिराङ–९ खैराङकी ७० वर्षीय तुलकुमारी चेपाङको घरको विद्युत्को मिटर पनि ‘अन’ गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका चेपाङ समुदाय गाउँमा बिजुली बत्ती बल्दा दङ्ग परेका थिए । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको खैराङलगायत दुर्गम बस्तीका ९ वटै वडाका चेपाङसहित अन्य समुदायको घरमा सोमबारदेखि बिजुली बल्न थालेपछि उहाँहरू दङ्ग पर्नुभएको हो । वृद्ध उमेरमा गाउँमा बिजुलीबाट बत्ती बलेको देख्न पाउँदा तुलकुमारी निकै खुसी हुनुभएको थियो । टुकी र दियालोमा जीवन व्यतीत गर्नुभएका उहाँ घरमा बिजुली बत्ती बल्दा निकै हर्षित थिए । तर कुलमान भने आफुलाई बर्खास्त गरीएको खवर सुनेसँगै भित्रैभित्र मुरमुरीरहेका थिए । तर उनले त्यो बाहीर देखाएनन् । एक कार्यकाल सकाएर दोस्रो कार्यकाल सकिन ५ महिना बाँकी हुदाँ कुलमानलाई हटाईएको हो ।
सरकारले कुलमानलाई हटाएर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । यसरी घिसिङलाई नियुक्ति गर्दा र हटाउँदा पनि दुई संयोग बनेका छन् । घिसिङ हटाउँदा शाक्य हट्नुपरेको थियो भने अहिले घिसिङ हटेर शाक्यकै इन्ट्री भएको छ । त्यस्तै, कांग्रेस नेतृत्वको सरकारबाट नियुक्त भएका कुलमान कांग्रेस सरकारमा भएकै बेला हट्नु पर्ने स्थिती श्रृजना भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको चेपाङलाई बिजुली कार्यक्रम अन्तर्गत राक्सिराङ गाउँपालिकाको पूर्ण वडा विद्युतियकरण घोषणा तथा उद्घाटनपछि यहाँका स्थानीय गाउँ उज्यालो भएपछि जनता खुसी भएका हुन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक समारोहबिच राक्सिराङ गाउँपालिका–९ खैराङमा रहेको ट्रान्समिटरको ‘स्विच अन’ गरेर खैराङका बस्तीलाई त झलमल्ल बनाए । तर उनले आफ्नै पदबाट भने हात धुनु पर्यो । त्यस क्रममा कुलमानको सटीक प्रतिक्रिया थियो , अदालत जान्छु, अदालत छदै छनी । यो बिवाद र वाकयुद्ध उर्जामन्त्री दिपक खड्का र कार्यकारी निर्देशक घिसिङ्गबिच ओली सरकार बनेदेखि नै शुरु भएको थियो ।
ओली सरकार गठन भएसँगै घिसिङले ट्रंकलाइन र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै उद्योगमा लाइन काटेपछि टसल सुरु भएको थियो । सरकारले तत्काल उद्योगमा लाइन जोड्न निर्देशन गरे पनि कुलमानले मन्त्रिपरिषद्ले निर्णय नगरेसम्म लाइन जोड्न मानेका थिएनन् । यसरी सरकार र कुलमानबिच टसल हुन थालेसँगै सरकारले हटाउने तयारी गरेको थियो । तर सिधै निर्णय गरेर हटाउन कानुनी अड्चन रहेकाले ऊर्जा मन्त्रालयमार्फत स्पष्टीकरण सोध्न थालिएको थियो ।
यसअघि नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कुलमानलाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । गृहमन्त्री रमेश लेखकले विरोध हुने भन्दै तत्काल निर्णय गर्न नमानेपछि त्यतिबेला रोकिएको थियो । तर सोमबारको बैठकले भने घिसिङलाई हटाउने निर्णय गरेको छ । सरकार फेरिएर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि नै घिसिङ अप्ठ्यारोमा परेका थिए । सार्वजनिक संस्थानको नेतृत्वमा बसेर आफू प्रतिकुलको सत्तालाई चुनौती दिन थालेपछि ओली सरकारले उनीमाथि ब्याक टु ब्याक एक्सन लिएसँगै उनको भविष्य अन्योलमा परेको थियो ।
ऊर्जामन्त्री दीपक खड्काले कुलमानमाथि दबाब बनाउन स्पष्टीकरण सोध्ने, कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिनेदेखि सरकार गठन भएको आठ महिनामा कुलमानलाई ६ पटक स्पष्टीकरण सोधिएको थियो । गत असोज २२ मा पहिलो पटक स्पष्टीकरण सोधिएको थियो । भने, १३ कात्तिक र मंसिर तेस्रो साता स्पष्टीकरणकै शैलीमा ऊर्जा मन्त्रालयले १५, सात र तीन बुँदे ‘विवरण’ मागेको थियो । त्यसपछि २२ पुसमा सातदिने र १३फागुनमा २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।
त्यसमा कुलमानले दिएको जवाफमा हटाउने आधार नपाएपछि ऊर्जा मन्त्रालयले घिसिङलाई गत आवको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको थियो । २०७३ सालमा काठमाडौँ उपत्यकामा लोडसेडिङ हटाएको घोषणा गरेपछि घिसिङ जनतामाझ लोकप्रिय छन् । यसरी मन्त्रीसँगको द्धन्द र टकराबकाबिच सरकारले कुलमानलाई हटाएर शाक्यलाई ल्याउने निर्णय गरेको हो । तर कुलमानको अदालत जाने बाटो भने खुल्लै रहेको छ । जनताको साथ र समर्थन पाएका कुलमानको छिट्टै पुर्नवहाली हुने आश जनतामा जिवितै छ । जे भएपनि देशलाई लोडसेडीङ्गवाट मुक्त गर्ने काम कुलमानकै पालमा भएकाले जनताले उनलाई उज्यालो नेपालका नायकका रुपमा चिन्दै आएका छन् ।