काठमाडौं । सत्तारुढ दल नेकपा एमाले नेपाली काँग्रेस तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठक सिंहदरवारमा जारी रहेको छ । प्रमुख तीन दलका शीर्ष नेताहरु बैठकमा सहभागी भएका छन् । केही बेरअघि मात्रै सिंहदरबारमा शुरु भएको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपिी शर्मा ओली, काँग्रेस सभापती शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएका छन् ।
बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल, माओवादी उपमहासचिव शक्ति बस्नेत र विज्ञ खिमलाल देवकोटा सहभागी छन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने मुख्य तयारी छ । दुवै आयोगसम्बन्धी कानुन बने पनि पदाधिकारी नियुक्ति नहुँदा काम अघि बढ्न सकेको छैन । आयोग पदाधिकारी नियुक्तिमा तीन दलबीच भागबन्डा तयारी छ ।
त्यस्तै, तीन दलबीच राजावादीको प्रदर्शनले मुलुकमा ल्याएको तरंगबारे अनौपचारिक छलफल हुनेछ । संविधान, लोकतन्त्रको पक्षमा तीन दलबीच न्युनतम साझा धाराणा बनाउने उनीहरूको छलफलको विषय छ ।उनीहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए । बैठकमा संक्रमणकालीन न्याय, पछिल्लो समय बढिरहेको राजावादीको सक्रियतालगायतका विषयमा छलफल भइरहेको छ । यस बैठकअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका थिए ।