पोखरा । त्रिभुवन बिश्वविद्यालय अन्तगर्तको ठूलो क्याम्पस पोखराको पृथ्वीनारायण क्याम्पस ( पीएन क्याम्पस ) मा स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु ) ले १६ वर्षपछि नेतृत्व पाउँदैछ । यसअघि विवादका कारणले चुनाव हुन सकेको थिएन । यसपटक चैत ५ गते र त्यसको भोलिपल्ट पनि विवादकै कारण चुनाव हुन नसक्दा १० गतेका लागि तय गरिएको थियो । यसपटक पनि भाँडिने त होइन भन्ने आशंकाबीच आज बिहान ८ बजेदेखि मतदान जारी छ ।
बिहानैदेखि शान्तिपूर्वक मतदान भइरहेको र ७ हजार ४ सय विद्यार्थीले भोटिङ कार्ड लागेको निर्वाचन अधिकृत प्राध्यापक डाक्टर रामचन्द्र पोखरेलले जानकारी दिए । अहिलेसम्म यो क्याम्पसमा एमाले निकट अनेरास्ववियुबाहेक अरूले जित्न सकेको छैन । अनेरास्ववियु आफ्नो विरासत जोगाउने होडमा छ भने अन्य संगठन र स्वतन्त्र उम्मेदवार अनेरास्ववियुको विरासत भत्काउने रणनीतिमा छन् ।
यो क्याम्पसबाट स्ववियु सभापति हुने एमाले नेता सोमनाथ प्यासी प्रदेश प्रमुख भइसकेका छन् भने पूर्व पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारी, पूर्वमन्त्री पदम गिरी, पोखराका मेयर धनराज आचार्य, नेता राजीव पहारी, राजनीतिक विश्लेषक झलक सुवेदीलगायत यहीँका स्ववियु सभापति हुन् ।
अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु सभापति भए । त्यसपछि भने विवादका कारण चुनाव भएको थिएन । ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पीएन क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् । यसपटक स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी ( मोहन वैद्य ) को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन् ।अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले पनि स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।