काठमाण्डौं । सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयक छिटो टुङ्ग्याउने काम भइरहेको बताएका छन्। शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजामती कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक छिटो टुङ्गो लगाउन लागिरहेको जानकारी दिए। उनले संविधानले दिएको अधिकार पूर्ण रूपमा प्रयोग गर्ने वातावरण अझै नबनेको गुनासो आएको उल्लेख गरे।
उनले संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर भएको आम जनगुनासो रहेको बताए। संविधानले अधिकार विकेन्द्रीकरण गरे पनि व्यवहारमा केन्द्रीकरण बढिरहेको उनको भनाइ छ। संघीयता बलियो बनाउन अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमलाई सक्रिय बनाउनुपर्ने उनको मत छ। उनले संघीयताको विकल्प खोज्नुभन्दा यसलाई बलियो बनाउन र संघीयतामा केन्द्रित हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘संविधानले दिएको अधिकार पूर्ण रूपमा प्रयोग गर्ने वातावरण अझै बनेको छैन भन्ने गुनासो सुनेका छौँ। संघीय निजामती सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर भएको जनगुनासो हामीले सुनेका र भोगेका छौँ। संसदमा विचाराधीन निजामती, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयक छिटो टुङ्ग्याउने प्रयासमा छौँ। यसले केही हदसम्म बाटो खोल्छ भन्नेमा आशावादी छौँ। यो छिटै पूरा गर्न सबैको सहयोग अपेक्षा गर्छु।