जनकपुरधाम । सिराहाको औरही गाउँपालिका क्षेत्रमा महायज्ञ आयोजना गर्ने नाममा दलित परिवारमाथि गरिएको ज्यादतीको घटनामा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका छन् । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मधेश प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले भने, ‘शिवजी यादव र दिलीप यादवलाई नियन्त्रणमा लिइएको छ र अहिले उनीहरूसँग सोधपुछ भइरहेको छ । शनिबार पीडित परिवारसँग बयान लिने प्रक्रिया अघि बढ्नेछ ।’
यस घटनामा महायज्ञ स्थलको नजिक रहेको दलित परिवारको घर भत्काउनका लागि गाउँपालिका अध्यक्ष यादव र अन्य स्थानीय निकायका प्रतिनिधिहरूसँग मिलेर दबाब दिएका थिए । यसै क्रममा दीपक मरिक नामक दलित परिवारको घर तोडिएको थियो र उनीहरूलाई अन्यत्र सार्न भनिएको थियो ।
पीडित परिवारका सदस्य दीपक मरिकले भने, ‘हामीलाई न केवल घरबाट हटाउन दबाब दिइएको थियो । तर, हाम्रो घरको सामान समेत पुनः प्रयोग गरिँदै आएको छ । हामीलाई असहाय बनाइयो ।’ यस घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन सुरु गरेको छ । आयोगका अधिकारीहरूले यस घटनामा जातीय भेदभावको संकेत पाएको बताएका छन् ।
महायज्ञको नाममा अछुत भन्दै दिपकलाई उठिबास लगाएको समाचार विभिन्न मिडियामा आएपछि संघीय र प्रदेश दुबै संसदमा सांसदहरुले आपत्ति जनाएका थिए । सांसदहरु आरोपीहरुलाई अबिलम्ब पक्राउ गरी अनुसन्धान तथा कारबाही गर्न माग गरेको थियो । दलितमाथि अत्याचार गरिएको घटनालाई सामान्य रुपमा लिएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई तानिसकेको छ ।