जेरुसलेम । युद्धविराम सम्झौताको वेवास्ता गर्दै गाजापट्टीमा हवाई आक्रमण थालेको इजरायलले बिहीबारदेखि स्थल आक्रमण पनि सुरू गरेको छ । इजरायली सेनाले गाजामा बुधबार राति र बिहीबार बिहान गरेका हवाई आक्रमणमा कम्तिमा ८५ प्यालेस्टिनी मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बीबीसीका अनुसार इजरायली रक्षा बल ( आईडीएफले ) दक्षिणी गाजाको खान युनुस र रफाह सहर तथा उत्तरी सहर बेत लाहियामा आक्रमण तीव्र पारेको हो । हमासले इजरायललाई लक्षित गरी तीनवटा क्षेप्यास्त्रहरू प्रहार गरेको आईडीएफले जनाएको छ । तर ती क्षेप्यास्त्रहरू इजरायली क्षेत्रमा प्रवेश गर्नुअघि नै निष्क्रिय पारेको आईडीएफले जनाएको छ ।
आईएफडीले गत सोमबार र मंगलबार गरेका आक्रमणमा ४ सय ३० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका थिए । मारिनेमध्ये सयभन्दा बढी बालबालिका तथा महिला छन् । ती आक्रमणमा ६ सय ६० जना भन्दा बढी घाइते भएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा लडाइँ पुनः सुरू गर्ने बताएलगत्तै इजरायली रक्षा बल ९आईडीएफ०ले थप आक्रमण गरेको हो । नेतान्याहूले हमासविरुद्ध ‘पूर्ण शक्तिका साथ लडाईं गर्ने’ बताएका थिए । पछिल्ला आक्रमण ‘सुरुवात मात्र’ भएको उनको भनाइ छ ।
तीन दिनयता गरिएका आक्रमण १९ जनवरीमा दुई पक्षबीचको युद्धविराम सम्झौता लागू भएयताकै भीषण हो । उक्त सम्झौतामा युद्धविराम तीन चरणमा लागू हुने उल्लेख छ । युद्धविरामको पहिलो चरणमा नै दोस्रो चरणबारे वार्ता हुने भनिएको थियो । तर उक्त वार्ता हुन नसक्दा युद्ध पुनस् चर्केको हो । प्रस्तावित दोस्रो चरणमा इजरायलले गाजाबाट सेना फिर्ता गर्ने उल्लेख छ । तर इजरायल र अमेरिकाले पहिलो चरणको अवधि बढाउन जोड दिएका थिए । उक्त अवधिमा थप प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धक रिहा गर्ने उनीहरूको प्रस्ताव थियो ।
तर त्यसमा हमास सहमत नभएपछि युद्ध पुनस् चर्केको हो । नेतान्याहुले बाँकी बन्धकहरूको फिर्तीका लागि लडाइँ पुनः सुरू गर्नुपरेको बताएका छन् । तर बन्धकहरूका परिवारहरूले नेतान्याहुको निर्णयको आलोचना गरेका छन् । सरकारले आफ्ना प्रियजनहरूको वेवास्था गरेको उनीहरूको भनाइ छ । नेतान्याहुले गाजापट्टीमा हमासविरुद्ध इजरायलले गरेको आक्रमण सुरुवात मात्र भएको चेतावनी दिएका छन् । इजरायली बन्धकको रिहाइका लागि राखेका सबै प्रस्ताव हमासले अस्वीकार गरेपछि पुनस् आक्रमणमा सुरू गर्नुपरेको नेतान्याहुको दाबी छ । उनले हमासमाथिको आक्रमण अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनसँगको समन्वयमा थालेको पनि जनाएका छन् । (एजेन्सीको सहयोगमा )