जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै भेटवार्ता सकारात्मक रहेको बताएका छन्।
तर गत फागुन २५ गते काठमाण्डौमा पूर्वराजाको स्वागतमा भएको कार्यक्रममा मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर राखीएको बिषयले निकै हंगामा मच्चाएको थियो । यतिसम्म कि स्वागत र्यालीमा योगी आदित्यनाथको फोटो प्रदर्शन गर्ने ब्यक्तिको खोजी भएपछि उनि भारत भागेका थिए । यसरी एकातिर राजावादीहरु सल्बलाउनु र अर्कातिर मधेश प्रदेशका मुख्यमन्त्री सिंह सँग योगी आदित्यनाथको भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरीएको छ ।
अझ रमाईलो पक्ष त के छ भने सो भेटवार्तामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली चौधरी समेत सहभागी देखिन्छन् । त्यसरी नै नेपाली काँग्रेस सर्लही नेता ठाकुर लगायत पनि तस्विरमा देखिएका छन् ।
मुख्यमन्त्री सिंहका अनुसार भेटमा रामायण सर्किट, सीता सर्किटको विकास, अयोध्या दर्शन गर्न जाने पर्यटकका लागि जनकपुरधामलाई अनिवार्य गन्तव्य बनाउने तथा मधेस प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग आवश्यक विषयमा छलफल भएको थियो।
तर, मुख्यमन्त्री सिंहको यो भ्रमणबारे मधेस प्रदेश सरकारका अन्य मन्त्रीहरू भने अनभिज्ञ रहेका छन्। ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवका अनुसार मुख्यमन्त्रीले न मन्त्रिपरिषद्लाई जानकारी गराएका थिए, न त भ्रमणबारे कुनै आधिकारिक जानकारी उपलब्ध गराएका थिए। राजावादी र गणतन्त्रवादीहरुबिच द्धन्द चर्कीरहेका बेला दुई बहालवाला मुख्यमन्त्रीको भेटवार्ताले राजनीतिक रुपमा तरङ्ग फैलिएको छ । त्यसमा पनि सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुको नै उपस्थितीले त झन् गम्भीर प्रश्न खडा गरेको छ ।