काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ मा सार्वजनिक गरेको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले पूर्वराजाले नेपाली झण्डाको अपमान गरेर संविधान मिच्ने काम गरेको भन्दै आपत्ति जनाएका हुन्।
उनले संविधानविरोधी कदमहरु रोक्नसमेत सरकारको ध्यानाकर्षण गराए। उनले २०६५ सालमै शाही निशान छाप हटाएर नेपालको झण्डा राखिएको र संविधानमा समेत श्री ५ महाराजधिराज भन्ने शब्द नरहेको भन्दै यस्तो गर्न नदिन सरकारको ध्यानाकर्षण गराए।
‘फागुन ६ गते दिएको सन्देशमा पूर्वराजा ज्ञानेन्द्रले श्री ५ महाराजाधिराज लेखेका छन् । शाही निशाना छाप प्रयोग गरिएको छ । २०६५ जेठ १६ गते नारायणहिटीबाट शाही निशाना हटाएर राष्ट्रिय झण्डा राखिएको हो,’ प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका खतिवडाले भने, ‘संविधानमा श्री ५ महाराजाधिराज भन्ने छैन । पूर्वराजालाई संविधान नमिच्न सरकारले आग्रह गरोस् । पूर्वराजाका क्रियाकलापप्रति संसद्मा निरन्तर आवाज उठिरहेको छ ।