काठमाण्डौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताए।
राजाहरुले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उनको भनाइ छ । उनले राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको बताए। उनले विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गरे। उनले जनताले कुनैपनि प्रणालीको राजतन्त्र नचाएको भन्दै राजतन्त्र पुनःस्थापित नहुने जिकिर गरे।
उनले भने, ‘हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन, नेपालमा हामीले संघीयता र गणतन्त्रको प्रणाली सार्वभौम जनताको अधिकार प्रयोग गर्नका लागि ल्याएका छौँ । नेपालमा हामीले थरीथरीका राजतन्त्र हेरिसकेका छौँ । पृथ्वीनारायण शाहको राजतन्त्रको मोडल पनि हेरोका छौँ, त्रिभुवन राजाको मोडल पनि हेरोका छौँ । बालक ज्ञानेन्द्रको राजतन्त्रको मोडल पनि हेरेका छौँ । त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्रको पटक पटक अधिकार खोसेर गरेको मोडल पनि हेरोका छौँ ।
राजतन्त्रको दुष्परिणाम त हेरिसकेका छौँ । राजनीतिको उन्नत प्रणाली गणतन्त्र ल्याएको छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै राजनीतिक दलहरु प्रतिवद्ध छौँ र कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किदैन, त्यो अवस्था छैन । जनताले कुनैपनि मोडलको राजतन्त्र चाहेको छैन । यसका लागि हामी जे पनि गर्न तयार छौँ।’