काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गर्ने प्रस्तावबाट व्याक भएका छन् । आज ( बुधबार ) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले गत चैत ३ गतेको संसद् बैठकमा राखेको उक्त कुराले परेको नकरात्मक असरप्रति क्षमायाचना गरेका हुन् ।
उनले देशमा पर्यटन प्रवर्धनका लागि गर्न सकिने केही विषयहरुको जानकारी गराउँदै उनले गत चैत ३ गतेको संसद् बैठकमा भनेका थिए, ‘धार्मिक क्षेत्रमा पूर्ण रुपले मदिरा, मासुजन्य पदार्थहरु प्रतिबन्ध गर्नुपर्छ । तर, हामीले व्यवसायिक रुपमा यसको विकास पनि गर्नुपर्छ । त्यसको लागि निश्चित् ठाउँहरु तोकेर जानुपर्छ । मदिराको लागि छुट्टै, मनरोञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ । मैले त बारम्बार भन्ने गरेको छु यौन व्यवसायलाई पनि व्यवसायिकरण गरौं । जसले यो मुलुकमा पर्यटकको संख्यालाई बढाउनेछ ।’
घिमरेको उक्त अभिव्यक्तिमाथि सर्वत्र आलोचना भएपछि अन्ततः उनले माफी मागेका हुन् । उनले सो धारण नेपाली कांग्रे र कांग्रेस संसदीय दलको धारणा नभएर नितान्त निजी विचार रहेको पनि बताए । ‘यही चैत ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा एउटा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित संसद्का सदस्यहरु एवं जनसमुदायमा समेत केही नकरात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमा याचना गर्न चाहन्छु,’– उनले भने ।