जेरुसेलम । मंगलबार गाजामा इजरायलले गरेको भीषण हवाई आक्रमणमा परी अहिलेसम्म तीन सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाका अधिकारीका अनुसार मृत्यु हुनेहरुमा गाजा क्षेत्रमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वफा पनि रहेका छन् । इजरायलले हमासका क्षेत्रहरु र उनीहरु बसेका सम्भावित संरचनाहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ ।
इजरायलले हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्यूजलाई बताएकी छन्। इजरायली आक्रमणमा अन्य बालबालिका र नागरिकसहित ३३० जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ ।
जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो घटना हो । युद्धविराम विस्तार गर्ने वार्ताहरू सम्झौतामा पुग्न असफल भएपछि आक्रमण सुरु गरेको इजरायलको दाबी छ । इजरायली प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा पहिलो चरणको युद्धविराम प्रस्ताव अस्वीकार गरेकाले आक्रमण गरेको बताइएको छ ।
हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ। हमासले युद्धविराम सम्झौता उल्टाएकोमा इजरायललाई विश्वासघातको आरोप लगाउँदै आक्रोशित प्रतिक्रिया दिएको छ । उसले गाजामा रहेका इजरायली बन्धक पनि जोखिममा परेको चेतावनी दिएको छ । एजेन्सी