काठमाडौं । ओली सरकार बनेको सात महिना भईसकेको छ । तर पनि अहिलेसम्म मन्त्रीपरिषद्का सदस्यहरुले आफ्नो सम्पती बिवरण सार्वजनिक गरेका छैनन् । लामोसमयसम्म सम्पति विवरण नबुझाएपछि वर्तमान सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसद्मा उठेको छ ।
राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पनि मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण खोजेका छन् । सरकार बनेको सात महिनासम्म आफूले कमाएको सम्पत्ति बुझाउन नसक्ने सरकारले, नचाहने सरकारले ठूला ठूला कुरा र गफ गरेर किन दुनियाँ हसाउनु रु’ सांसद केसीको प्रश्न छ ।
बुधबार प्रतिनिधिसभामा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अगाडि बढाउने प्रस्तावमाथिको छलफलमा यो विषय उठेको हो । यो विधेयकलाई सभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेले विरोधको सूचना दर्ता गरेका थिए ।
विरोध गर्नुको कारणबारे बोल्दै सांसद शाहले सोधे, ‘मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ? सरकार बनेको एक महिनामै सार्वजनिक हुनुपर्नेमा नभएको उनले बताए । सुशासन सरकारको व्यवहारमा समेत देखिनुपर्ने उनको आग्रह छ ।