भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। जारी प्रतियोगितामा मधेशको यो पहिलो जित हो भने कोशीको यो दोस्रो हार हो। भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनायो।
२८५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी प्रदेशले जम्मा ३३ ओभरमात्र खेलेर ११९ रनमै अल आउट भयो। कोशीका लागि ब्याटिङ गर्ने क्रममा साकिब हकले २५ रन, सुजन थपलियले २४ रन, फिर्दोश अन्सारीले २१ रन र दीपेश कँडेलले २० रन बनाए। बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंह एक्लैले ५ विकेट लिए। राजेश यादवले ३ तथा हरिशङ्कर साह र प्रदीप पासवानले १र१ विकेट लिए।
यसअघि २८४ रनको ठूलो स्कोर गर्न मधेश प्रदेशका लागि कप्तान अनिल साह, पवन सर्राफ र दीपेश दासले उत्कृष्ट खेल प्रदर्शन गरे। तीनै जनाले अर्धशतकीय पारी खेले। अनिलले ७५ बलमा १० चौकाको मद्दतमा ७५ रन बनाए भने पवनले ८५ बलको सामना गर्दै २ छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए। दीपेशले ६० बल खेल्दै १ छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान दिए। हरिशङ्कर साहले २९ रन बनाए।
बलिङतर्फ कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले २र२ तथा फिरदोस अन्सारी र दीपेश कँडेलले १र१ विकेट लिए। ९२ रन बनाएका पवन खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए। सिद्धार्थ क्रिकेट रङ्गशालामा बुधबार त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ।