काठमाडौँ । सरकारले ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने नारासहित यही फागुन २६ देखि काठमाडौँमा दुई दिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ। उत्पादन र उत्पादकत्व बढाउन आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजनाबारे पृष्ठपोषण लिन र अन्तरतह तथा निकायबीच समन्वय र सहकार्य गर्नु सम्मेलनको मुख्य उद्देश्य हो।
मन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारको सम्भावना पत्ता लगाउन र व्यवस्थापनका लागि ठोस राय-सुझाव लिन सम्मेलन गर्न लागिएको बताए। उनले भने, “मुलुकभित्र कस्तो रोजगार चाहिन्छ, त्यसका लागि कस्तो सीप आवश्यक छ। उद्यमशीलताका आधारमा उत्पादन बढाउने र रोजगारी दिने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ।”
सीपको अभावले मानिस बेरोजगार भएको बताउँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारको सम्भावना र व्यवस्थापन नहुँदासम्म वैदेशिक रोजगार घटाउन गाह्रो हुने बताए। उनले भने, “वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै हो। नेपाली समाजमा देखिएको नकारात्मक सोच र भाष्य चिर्दै अब केही हुन्छ भन्ने सन्देश सम्मेलनबाट दिन चाहन्छौँ।” उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन्।
वैदेशिक रोजगारीका चुनौतीको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने तथा श्रम र रोजगारमैत्री वातावरण बनाउन नीतिगत र कानुनी व्यवस्थाका लागि सम्मेलनमा सुझाव आउने मन्त्रालयको विश्वास छ। वैदेशिक रोजगार ऐन र राष्ट्रिय व्यावसायिक सीप विकास प्रतिष्ठानको परिमार्जन तथा सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार बोर्डको सुधारका लागि गठित कार्यदलको प्रतिवेदनमा पनि सम्मेलनबाट आएका सुझावलाई आन्तरिक रोजगार प्रवर्द्धन दशवर्षे रणनीतिक योजनामा समेट्ने मन्त्रालयको भनाइ छ।
सम्मेलनमा रोजगारी र उत्पादनशीलता बढाउन सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड यूनियन, श्रम र रोजगारसँग जोडिएका व्यवसायी, अनुसन्धानकर्ता/विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र र युवासहित करिब ५०० जनाको सहभागिता हुने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। नेपालको रोजगारी क्षेत्रमा देखिएको सङ्कुचनको समाधान, वर्षेनी श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा दिन र नयाँ रोजगारीका क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न आवश्यक नीति र कार्यक्रम बनाउन ठोस राय-सुझाव लिनु सम्मेलनको मुख्य उद्देश्य हो।
वैदेशिक रोजगारी अर्थतन्त्र र समाजको अभिन्न अंग भएकाले यो वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत बनेको छ। विप्रेषणलाई मुलुकको रूपान्तरणमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा बहस हुनेछ। वैदेशिक रोजगारीलाई मुलुकले आर्थिक समृद्धिको अल्पकालीन रणनीतिको रूपमा मात्र लिएको छ।
सामाजिक न्यायसहितको समावेशी विकास गर्ने सोह्रौँ योजनाको लक्ष्य हासिल गर्न मन्त्रालयले विभिन्न कार्यक्रम र परियोजना लागू गर्दै आएको छ। मुलुकमा आन्तरिक रोजगारीमा नेपाली श्रमिकको उचित प्रोत्साहन नहुँदा वैदेशिक रोजगारीमा बढी चाप परेको छ। आर्थिक वर्ष २०८०/०८१ मा ७ लाख १४ हजार २९७ जना नेपालीले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएको सो अवसरमा जानकारी दिइयो। वैदेशिक रोजगारीले नेपालको रोजगार व्यवस्थापन र वैदेशिक मुद्रा आर्जनमा प्रत्यक्ष सहयोग गरे पनि मुलुकको दीर्घकालीन सामाजिक र आर्थिक विकासमा यसको प्रभाव कम रहेको मन्त्रालयको भनाइ छ।