काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएकालाई बढी सजाय र सफाइ पाएकारुलाई दोषी ठहर गर्नुपर्ने मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएको छ । अख्तियार ललिता निवास प्रकरणमा प्रतिवादी बनाइएका ११० जनाविरुद्ध नै सर्वोच्चमा पुनरावेदन गएको हो । साथै, ६५ जना जग्गाधनीको जग्गा जफत हुनुपर्ने मागसमेत गरिएको छ ।
विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको दाबीसहित कलाधर देउजा, सुरेन्द्रमान कपाली, मुकुन्द प्रसाद आचार्य, जगत प्रसाद पुडासैनी, धर्म प्रसाद गौतम, युक्त प्रसाद श्रेष्ठ, रुद्र कुमार श्रेष्ठ, पुष्पराज उपाध्याय, इन्द्रप्रसाद ढुङ्गाना, टिकाराम घिमिरे, टिका बहादुर बिसी, जीवनाथ पोखरेल, अर्जुन प्रसाद भण्डारी, मोहम्मद साबिर हुसैन, श्रीहरि पुडासैनी, श्याम कुमार क्षेत्री, हरिकृष्ण तिमल्सिना, कृष्णप्रसाद पौडेल, प्रकाश नारायण भट्ट, टंकनाथ पौडेललगायतलाई प्रतिवादी बनाइएको छ ।
त्यस्तै, पुनरावेदनका क्रममा अख्तियारले पूर्वमन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई प्रतिवादी बनाइएको छ । यस अघि उनीहरुलाई विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा सफाइ दिएको थियो । यसैगरी अख्तियारले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र शोभाकान्त ढकाललाई पनि प्रतिवादी बनाइएको छ । पूर्वसचिव दिनेशहरि अधिकारीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
विशेषले ललिता निवासका प्रतिवादीहरूमध्ये केहीलाई पूरा र केहीलाई आंशिक सफाइ दिएपछि अख्तियारले ललिता निवास क्याम्पभित्रको जग्गा निजी नाममा ल्याएर फाइद लिएको र सरकारलाई हानी नोक्सानी गरेको पुष्टि हुँदा पनि प्रतिवादीलाई आरोपदावी बमोजिम सजाय गर्नुपर्नेमा सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको दाबी अख्तियारले गरेको छ ।