काठमाडौं । राजधानीमा जारी ‘केपी ओली कप फुटबल’को फाइनल खेल हेर्न काठमाडौं आईपुगेका फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोनसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । बफोन र ओलीबीच बिहान चियानास्ता सहितको भेट भएको ओलीले जानकारी दिएका छन् । उनले लेखेका छन् ‘नेपाल आउनु भएका इटालीका गोलकिपर जियानलुजी बफोनसँग आज बिहान सँगै चियानास्ता गर्ने अवसर मिल्यो । उहाँको नेपाल बसाइ सुखद् रहोस्’।
भेटका अवसरमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी थिए। आइतबार बफोन काठमाडौं आइपुगेका हुन । उनलाई त्रिभुवन विमानस्थलमा आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेलगायतले स्वागत गरेका थिए ।
सन् २००६ मा इटालीले विश्वकप जित्दाका बुफोन महत्त्वपूर्ण सदस्य रहेका थिए । इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् । सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।
युवा संघले आयोजना गरेको प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता छ । उपाधिका लागि भोलि मच्छिन्द्र क्लव र त्रिभुवन आर्मी क्लबबीच दशरथ रंगशालामा भिड्दैछन् । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् । मछिन्द्रले यसअघि भएको संस्कणको उपाधि जितेको थियो ।